वीरगञ्ज – अस्तव्यस्त अवस्थामा रहेको वीरगञ्जको बसपार्कलाई व्यवस्थित बनाएर सञ्चालन गर्न मेयर राजेशमान सिंहले निर्देशन दिएका छन् ।
बसपार्क सञ्चालनको ठेक्का पाएको ठेकेदार कम्पनीले जिम्मेवार पूरा नगर्ने, सरसफाइ नगर्ने, पार्क व्यवस्थित नगर्ने, अव्यवस्थित शौचालय, जथाभावी सवारी पार्कीङ लगायतका समस्या देखिएकाले तत्काल ती समस्या समाधान गरेर व्यवस्थित रुपमा वसपार्क सञ्चालनमा ल्याउन मेयर सिंहले निर्देशन दिएका हुन् ।
वसपार्क व्यवस्थित बनाउन भन्दै भवन निर्माणसहित संरचना खडा गरिएको भए पनि ठेकेदारले व्यवस्थित रुपमा वसपार्क सञ्चालन गर्न ध्यान दिएको छैन ।
पार्क भित्र बस तथा साना सवारी छिराएर पैसा असुल्ने काम मात्रै भएको तर व्यवस्थित र चुस्त सुविधा दिन भने ठेकेदार कम्पनीले चासो नदिदा भद्रगोल बनेको व्यवसायी सुमन श्रेष्ठले बताए ।
बसपार्कको छुट्टै संरचना खडा भए पनि अझैसम्म बाहिर काउण्टर राखेर व्यवसायीहरुले टिकट विक्रि वितरण गर्दै सेवा दिइरहनु परेको व्यवसायी श्रेष्ठको भनाइ छ ।
करिब दुई सय काउण्टर चाहिनेमा बसपार्कमा १० वटा मात्र काउण्टर बनाईएकोले पनि भवन प्रयोगमा आउन नसकेको उनको भनाइ थियो ।
वसपार्कको निरीक्षणका क्रममा बनेको करिब ३ वर्ष नपुग्दै त्यहाँको भौतिक संरचना जिर्ण भईसकेको र मुख्य भवन प्रयोग नभईकनै टुटफुट र छत चुहिने समस्या देखिएको मेयर सिंहले बताए ।
बसपार्क भित्र प्रहरीको लागि बनाईएको भवन पनि प्रहरी नबस्दै उजाडिन थालेको छ ।