

वीरगञ्ज - जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको उम्मेद्वारी दर्ताले जिल्लास्थित सत्तारुढ गठबन्धनमा खलबल मचेको छ । वीरगञ्ज महानगरको मेयर उपमेयर र बोर्ड सदस्यको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको जसपाले जिल्ला समन्वय समितिको निर्वाचनमा भने एमालेसँग गठबन्धन गरेको छ ।
समन्वय समितिको सभापति र ३ सदस्य लिँदै जसपा एमालेसँग गठबन्धन गरेको हो भने एमालेले उपसभापति र ४ सदस्य सहित जसपासँग गठबन्धन गरेको हो ।
महानगरमा कांग्रेस र जसपा मिलेर मेयर उपमेयर तथा बोर्ड सदस्य भागवण्डा लगाएका थिए । तर समन्वय समितिमा भने कांग्रेसले नेतृत्वको दावी गरेपछि जसपा एमालेसँग मिल्दै नेतृत्व हत्याउन पुगेको हो । १४ स्थानीय तहमध्ये १२ प्रमुख उपप्रमुख कांग्रेसको हुँदा एमालेको १०, जसपाको ५ र लोसपाको १ रहेको छ ।
बढी मत आफुसँग रहेकाले नेतृत्व आफूले पाउनु पर्ने सत्तागठबन्धनमा कांग्रेसले दावी गरेपछि नेतृत्व जसले दिन्छ उसैसँग जिससको निर्वाचनमा तालमेल गर्ने रणनीति अपनाएर जसपाले छलफल अघि बढेको थियो ।
एमाले जसपालाई नेतृत्व सुम्पदै उपप्रमुखमा चित्त बुझाउन राजी भए पछि जिल्ला समन्वय समितिको आउँदो २७ गते हुने निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको एमालेको एक नेताले बताए । जस अनुसार जिल्ला समन्वय समितिका सभापतिका लागि जसपाले वीरगञ्ज १५ बाट वडासदस्यमा निर्वाचित निरन्जन साह सोनार (अजय सर्राफ)लाई उम्मेद्वार बनाएको छ । एमालेले उपसभापतिका लागि बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई उम्मेद्वार बनाएको छ ।
एमालेले उपसभापतिसहित ४ सदस्य लिएको छ भने जसपाले सभापतिसहित ३ सदस्य पाएको छ ।
यसैबीच नेपाली कांग्रेसले पनि जिसस नेतृत्वका लागि लोसपासँग गठबन्धन गरेको छ । कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका सरोज चौरसियालाई सभापतिकोे उम्मेद्वार बनाएको छ भने वीरगञ्ज वडा नम्बर ९ की सदस्य कुमारी सोनीलाई उपसभापतिको उम्मेद्वार बनाएको छ भने लोसपाबाट अल्पसंख्यमा प्रेम मुखिया बिनलाई सदस्य बनाएईको नेपाली कागँेसका नेता श्याम पटेलले बताउँनु भयो ।
यो निर्वाचनमा जसपा नै निणर्ायक रहेकाले एमाले र कांग्रेस जसपालाई हातमा लिन लागि परेका थिए । महानगको मेयर छाडेको र बोर्डमा पनि समान हिस्सा दिएको कांग्रेसले जिससमा भने आफ्नो नेतृत्व ल्याउन चाहेको थियो । तर जसपाले नेतृत्व नछाड्ने अडान लिँदै एमालेसँग तालमेल गर्न पुगेपछि कांग्रेस बहुमत नभए पनि उम्मेद्वारी दर्ता गरेर औपचारिकता निभाउन बाध्य भएको छ ।
एमाले र जसपाले तालमेल गरेसँगै उनीहरुको मतसंख्या १५ भएको छ । कांग्रेसको १२ र लोसपाको १ छ । त्यसैले निर्वाचनमा प्रतिनिधिले मत क्रस नगरे जित एमाले जसपा गठबन्धनको हुने देखिन्छ ।
यसले विगतमा पनि जिससमा पुग्न नसकेको कांग्रेस यस वर्ष पनि जिससमा पुग्नबाट बन्चित हुने देखिएको छ ।