यातायात व्यवस्थापनको नाममा शूल्क असुले पनि कुनै सुविधा नदिएर उल्टै दोहोरो शूल्कको मारमा परेको वीरगञ्जका बस व्यवसायीहरुले दुखेसो पोखेका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै वीरगञ्जका बस व्यवसायीहरुले बसपार्क सञ्चालनको ठेक्का पाएका ठेकेदारले आफुहरुसँग ज्यादतीपुर्ण ढंगले शूल्क असुलीरहेको आरोप लगाएका छन् ।


कोभिड–१९ को कारण दुई–दुई पटक भएको लामो बन्दाबन्दीका कारण नाजुक अवस्थामा पुगेका बस व्यवसायीलाई राहत दिनुको साटो उल्टै दोहोरो शूल्कको मारमा पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक बिनोद मानन्धरले बताए । वीरगञ्ज महानगरपालिकाले आवश्यक पूर्वाधार र मापदण्डको निर्माण एवम् तयारी बिना नै वीरगञ्ज बस टर्मिनल सञ्चालन तथा व्यवस्थापन गर्न निजी साझेदार एम.के. इन्टरनेशनल कन्सट्रक्शन प्रा.ली.लाई हचुवाकको भरमा जिम्मेवारी दिएको बस व्यवसायीद्वारा जारी सयुँक्त प्रेस विज्ञप्तीमा उल्लेख छ । केन्द्रिय बस टर्मिनल र नारायणगढ बसपार्क सञ्चालनको व्यवस्थापनमा लगाइएको ठेक्काभन्दा अत्यन्तै चर्काे र रात्री पार्किङ्गको समेत शूल्क लगाएर बस व्यवसायीहरुलाई सास्ती दिने काम गरेको बस व्यवसायीको गुनासो छ । निवर्तमान मेयर बिजय कुमार सरावगीलाई पटक–पटक जानकारी गराउँदा पनि झुठो आश्वासन बाहेक केही नपाएको हुँदा अब नवनिर्वाचित मेयरले समस्या समाधानका लागि पहल गरिदिने वीरगञ्ज यातायात सेवा प्रा.ली.पर्साका अध्यक्ष हरिशरण बजगाईको विश्वास छ ।