बिरगंज । फलको राजा मानिने आँप प्राकृतिक रुपमै पाक्न अझै केही दिन कुर्नु नै पर्छ । तर बजारमा कार्वाइड हालेर पकाइएको आँप छ्यापछ्याप्ती पाइन्छ । विषादीयुक्त आँपले स्वास्थ्यमा गम्भीर असर गरे पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।
सिपिया, बम्बई लगायतका प्रजातिका आँप फाटफुटरुपमा पाक्न थाले पनि मालदेव, कलकतिया , किसनभोग लगायतका अाँप पाक्ने बेला भएको छैन । तर पनि बजारमा धेरै किसिमका अाँप छ्यापछ्याप्ती पाउन थालेको छ । पाक्ने समयभन्दा पहिले नै अाँपको मूल्य बढि पाइने भएकाले व्यापारीले काँचो आँपलाई कार्वाइड हालेर बजारमा बेच्ने गरेका छन ।
बजारमा पाइने यस्ता आँप हेर्दा पाकेको देखिए पनि स्वाद भने अमिलो नै हुन्छ । यस्ता अाँप खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सक बताउाछन ।
पर्साको बिरगंज , पौखरीया , भिस्वालगायतका बजारमा पाइने नयाँ किसिमका यी आँप धेरैजसो भारतबाट आयात गरिएको हो । नेपालकै किसानले लगाएका आँपमा पनि व्यापारीले अखाद्य तत्ल मिसाएर बिक्री गर्ने गरेको पाइन्छ । बजारमा यस्ता आँप एक महिनादेखि बिक्री भइरहे तापनि सरोकारवाला निकाय गम्भीर हुन सकेका छैनन । बजार अनुगमनको जिम्मेवारी पाएका जिल्ला प्रशासन कार्यालय , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मुकदर्शक बन्दा आम उपभोक्ताको स्वास्थ्यसंग खेलवाड भइरहेको छ ।