पर्सा प्रहरीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ११३ गोटा वन्यपशुपन्क्षी कछुवा सहित वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ का ४५ वर्षीय आनन्दलाल टेमानी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोमबार विहान वीरगञ्ज महानगरपालिका १६ ईनर्वागाउँको बाटो हुँदै अवैधरूपमा वन्यपशुपन्क्षी कछुवा ११३ गोटा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सूचनाको आधारमा भारतीय नम्बर प्लेटको मोटरसाईकल रोकी चेकजाँच गर्दा टेमानीलाई पक्राउ गरिएको हो ।
टेमानीलाई भारतीय नम्बरको मोटरसाइकल र कछुवा सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको छ ।
