वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासका लागि सम्पूर्ण नगरवासीको अर्थपूर्ण साथ र सहयोगको आवश्यकता रहेको बताएका छन् ।
यहाँस्थित गौतम स्कुलले आइतबार नगरसभा गृहमा आयोजना गरेको ‘स्टुडेन्टस् एचिभमेण्ट अवार्ड’ कार्यक्रममा बोल्दै मेयर सिंहले महानगरपालिकामा रहेको बेथितीलाई अन्त्य गर्दै विकसित वीरगञ्ज बनाउने सपना पूरा गर्न नगरवासीको निरन्तर साथ्, सहयोग र खबरदारी आवश्यकता औल्याएका हुन् ।
महानगरको मेयरका रुपमा आफूले सपथ ग्रहण गरेको २५ दिन मात्र भएको बताउँदै सिंहले छिट्टै शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुलाई पनि आफूले समाधान गर्ने बताए । ‘मैले सपथ लिएर मेयरका रुपमा पदभार ग्रहण गरेको आज २५ दिन भएको छ । हाल वीरगञ्जको वर्तमान अवस्थाको बारेमा जानकारी गराउन स्वेत पत्र जारी गर्ने काममा धेरै व्यस्तता छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा त्यती ध्यान पुग्न सकेको छैन । तर त्यस क्षेत्रमा मौलाएका सम्पूर्ण समस्याहरुको बारेमा मलाई जानकारी छ, छिट्टै सबैको समाधान हुनेछ, सिंहले भने ।’
कार्यक्रममा गौतम स्कुलका पूर्व विद्यार्थीहरुले वीरगञ्जलाई शिक्षाको हबका रुपमा विकसित गर्ने सकिने सम्भावना र त्यसकाका लागि आवश्यक स्रोत, साधन, पूर्वाधार, नीति नियम, कानुन र लगानीका बारेमा देखाएको अनुसन्धानमुलक प्रस्तुतिको बारेमा बोल्दै सिंहले वीरगञ्जलाई आर्थिक नगरीसँगै शैक्षिक नगरीको रुपमा विकसित गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘वीरगञ्ज शिक्षाको हबका रुपमा विकसित होस् भन्ने हाम्रो पनि इच्छा छ, सिंहले भने, ‘त्यसको लागि हामीलाई शिक्षा क्षेत्रमा लामो अनुभव र ज्ञान भएका व्यक्तिहरुको आवश्यकता छ । छिट्टै त्यस्ता व्यक्तिलाई नियुक्त गरेर अध्ययन टोली गठन गर्नेछौँ ।’
गौतम माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापिक उर्मिला लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाको २८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी हिम्मत बहादुर विष्टले विद्यालयका विद्यार्थीहरुले राष्ट्रिय सेवा दलको तालिम लिएर राष्ट्र र राष्ट्रियताको सेवामा समर्पित हुन चाहेको पाउँदा आफुलाई गर्व महशुस भएको बताए ।
उनले राष्ट्रिय सेवा दलमा पछिल्लो समयमा विद्यार्थीहरुको आकर्षण र अभिभावकहरुमा पनि विश्वास बढ्दै गएको बताउँदै यसले समाजलाई अनुशासनमा राख्न सहयोग पुग्ने बताए । राष्ट्रिय सेवा दलको एउटा मात्रै उद्देश्य अनुशासित समाज निर्माण नै रहेको बताउदै नेपाली सेनामा हुने अनुशासन विद्यार्थीहरुले पनि सिक्ने अवसर पाउनुका साथै यसले परिवार समाजमा पनि सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव अरविन्द्र अमात्य, नेपाली सेना श्रीजंग गणका गणपति प्रमुख सेनानी डायमण्ड कार्की, वीरगञ्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा. दिपक शाक्य, गौतम माध्यामिक विद्यालयका संस्थापक निर्देशक निमा लामा, निर्देशक सोनाम लामा, सहायक प्रधाध्यापिका परीक्षा पिया लामा, एकाडेमिक हेड गणेश क्षेत्री, एडमिनिस्ट्रेटिभ हेड रमेश शर्मा, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, एन प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीका अध्यक्ष राम कुमार सर्राफलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थीका अभिभावक र सञ्चारकर्मीहरुको पनि उपिस्थिति रहेको थियो ।
कार्यक्रममा कक्षा नर्सरीदेखि नौंसम्म प्रथम, दोस्रो र तेस्रो आएका विद्यार्थी, विभिन्न हाउसमा छनौट भएका विद्यार्थीहरु पुरष्कार वितरण पनि गरिएको थियो । कार्यक्रममा संस्थापक प्रधानाध्यापिका उर्मिला लामाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सौरज प्रधान र धन्यवाद ज्ञापन विद्यालयका शिक्षक एल्भिन रेञ्जरले आरोन रेञ्जरले गरेका थिए ।
राष्ट्रिय सेवा दलबाट प्रदान गरेको तालिमबाट क्याप्टेनमा चयन भएका विद्यार्थी श्रेया श्रेष्ठ, समिर चौरसिया आगामी शैक्षिक सत्रका लागि हेड ब्वाय र हेड गर्ल चयन गरिएको तथा विद्यालयका समूहगत झण्डा समेत वितरण गरिएको विद्यालयका प्रशासनका ललित कर्णले जानकारी दिए ।