वीरगञ्ज । सञ्चारकर्मी र सुरक्षाकर्मी दुवै समाजको ऐना भएको हुँदा एकआपसमा सहकार्य गर्दै अघि बढ्ने बारे वीरगञ्जमा छलफल भएको छ । क्रियाशिल युवा पत्रकार मञ्च नेपालले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा समाज परिवर्तनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको हो ।
मञ्चले जिल्ला ट्राफि प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहाल र वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लसँग भेटघाट एवम् परिचय गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन एवम् ट्राफिक व्यवस्थापनका विषयमा नागरिकको साथ र समर्थनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको मञ्चका अध्यक्ष प्रणय कुमारले जानकारी दिनुभयो ।
प्रणय कुमारकै अध्यक्षतामा सम्पन्न भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहालले क्रियशिल युवा पत्रकारहरुले ट्राफिक व्यवस्थापनका लागि नागरिकलाई सचेत बनाउने र अपर्याप्त स्रोत साधनको विषयमा कलम चलाउन आग्रह गरे । वीरगञ्जको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै प्रहरी निरीक्षक दाहालले प्रहरी, सञ्चारकर्मीमार्फत नै नागरिक सुसुचित र सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले अपराधिक गतिविधिको नियन्त्रणका लागि पत्रकारले प्रहरीलाई सघाउनुपर्नेमा जोड दिनुभयो । नागरिकले आफ्नो दायित्व जिम्मेवारीपूर्वक बहन गर्न सचेत बनाउन पत्रकारको अहम भूमिका हुने बताउँदै उनले सामाजिक कार्यहरुमा पनि समन्वय र सहकार्य गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष आनन्द पटेल, सचिव अरविन्द कुमार पटेल, कोषाध्यक्ष उपेन्द्र कुमार बरै, सदस्यहरु सुनिल ओझा, ओमप्रकाश सर्राफ, कन्हैयालाल बर्णवाल लगायतको उपस्थिती रहेको महासचिव वीरेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।