बिरगंज । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ १९ औँ धान दिवस मनाइँदैछ । १९ औँ धान दिवसको अवसरमा मधेश प्रदेशका मन्त्रीहरु देखि कृषी ज्ञान केन्द्र पर्साका प्रमुख, पर्साका स्थानीय तहका पालिकाका प्रमुखहरु ,उपप्रमुख ,वडा अध्यक्ष समेत खेतमै पुगेर धान रोपेर रोपाई सुरु गरेका छन तर मलका अभाव बारे कसैले चासो देखाएका छैन मात्र प्रचारप्रसार र सोसल मिडियामा आउनका लागि धान रोपाइ गरेको एक किसानले बताएका छन ।
नेपालमा हुुने कूल ४० प्रतिशत धान उत्पादन मधेश प्रदेशमा हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक छ । त्यसतैे पछिल्लो वर्ष पर्सा जिल्लामा धान उत्पादन राम्रो भएपनि यसपालि मलको अभावले राम्रो नहुने डरले किसानहरु चिन्तित छन ।
मन्त्रालयका अनुसार मधेश प्रदेशको पर्सा जिल्लामा १३ हजार ८ सय हेक्टर जग्गा धान रोपाई गर्ने योग्य छ । यो कूल खेती योग्य जग्गाको २९.६ प्रतिशत हो । यसवर्ष समयमै पानी परेकोले किसानहरु खुसी हुनुका साथै मलको अभावले किसान चिन्तित देखिएका छन । मौसमले साथ दिएपनि मलको भने अभाव रहेको किसानहरुको भनाई छ । पकाहाँ मैनपुर गाउपालिका २ का रामाकान्त साहले भने मल बिनाकै जसोतसो धान रोपेपनि मलको चिन्ता कायमै रहेको बताए । ‘मलका लागि कृषि सामग्री कम्पनी लिमिटेड सधैं धाउने गरेका छौँ तर प्रत्येक वर्ष रित्तै हात फर्किन्छौँ, यस पटक पनि रित्तै हात फर्केका छौ’ उनको भनाई छ । खेतमा धान रोप्नु अघि वा रोपेलगत्तै डीएपी मल आवश्यक पर्ने भन्दै डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेपनि नपाउने गरेको पोखरीया नगरपालिका ९ का किसान किशोरी राउतको गुनासो छ । गत वर्ष पनि धानको सिजनमा डीएपी नपाएका उनीहरुले यस वर्ष पनि आवश्यक परेका बेला जिल्लामा मल पाउने वा भारतीय बजारबाटै ल्याउनुपर्ने हो भन्नेमा दोेधारमा छन । यस वर्ष भारतमा पनि मलको अभाव हुन सक्ने आशमा नाकामा पनि कडाई छ । बिन्दबासिनी गाउपालिकाका झगरु महतो भन्छन ‘प्रत्येक वर्ष ४ विघा धान उत्पादन गर्दै आएको छु, तर मलको लागि प्रत्येक वर्ष परेशान हुुनुपर्छ, यस वर्ष पनि भारतीय बजारको भर पर्नुपर्ने समस्या देखिएको छ’, । मल र खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको छ । आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरुलेभने सहजै कुनै वर्ष पनि मल नपाएको गुनासो घट्न सकेको छैन ।