वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैया स्थित शम्सानघाट जलाउदै गरेको एक किशोरीको शवसहित ३ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले मृतक किशोरीकी आमा, दिदी र ठूली आमालाइ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मृतक बालिकाकी १८ बर्षिया दिदी , आमा ४० वर्षिया आशा देवी र ठूली आमा ५० वर्षिया उर्मिला देवी रहेका छन् ।
विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी छोरी १४ वर्षिया महिमा कुमारीको शव , छपकैया स्थित शम्सानघाटमा बुधबार राति जलाउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । विषादी सेवनका कारण वालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानबाट खुल्न आएको छ ।
उक्त घटनाको सूचना प्रहरीलाई नदिई गोप्य रुपमा शवको अन्त्यष्टी गर्न लागिएको थियो । छिमेकीबाट शव जलाउँदै गरेको सूचना पाई जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरियाबाट गएको टोली ढोङ्गी खोलाको मसानघाटबाट शव नियन्त्रणमा लिएको थियो ।
जल्दै गरेको शव बाँसको प्रयोग गरी चिताबाट निकाली जल्न बाँकी रहेको शवको लास जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साथै शव लैजान प्रयोग गरिएको २ वटा मोटसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । ढोङ्गी खोला पुलमा रोकी राखेको ना ४२ प ७६९७ र ना २१ प ६८७ नं. का मो.सा. प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मृतक वालिकाको प्रेम सम्बन्ध रहेकोमा असन्तुष्ट भएका परिवारका सदस्यहरुले मृतक बालिकाले ३/४ दिन पहिला आफ्नो प्रेमीलाई आफ्नै घर नजिक बोलाइ लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा मृतककी आमाले देखी घरपरिवारको सदस्यहरू मिली मृतकलाई निर्घात कुटपिट गरेको र घरबाट बाहिर आउन-जानमा कडाई गरेकोमा मृतकले आफ्नै पसलमा विक्री गर्न राखिएको बिषादी ल्याएर सेवन गरेका थिइन् ।
विषादी सेवन गरेको जानकारी पाइसक्दा समेत उपचार गर्न नलगी कोठामा थुनी राखेका कारण मृत्यु भएकोमा परिवारका सदस्यहरू मिली योजना बनाई कोही कसैलाई थाहा नदिई शवलाई मसानघाटमा लागेर जलाउन लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।
पक्राउ परेकाहरु तिनै जना माथि कर्तव्य ज्यान मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ ( पाँच) दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको साथै घटनामा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा निजहरूलाई तदारुक्ताका साथ खोजतलास भइरहेको पर्सा प्रहरीले जनाएको छ ।