काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि प्रधानमन्त्री देउवासँग राजदूत श्रीवास्तवले भेटवार्ता गरेका हुन् ।
भेटमा राजदूत श्रीवास्तवले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले पठाउनुभएको शुभकामना सन्देश सुनाउँदै पछिल्लो समयमा प्रधानमन्त्री देउवाबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भएको नेपाल भ्रमणबाट दुई देशको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे । साथै सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
काठमाडौँस्थित भारतीय राजदूतावासका अनुसार श्रीवास्तव नेपालका लागि २६औँ राजदूत हुन् । यसअघिका राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि श्रीवास्तव नेपालको राजदूतमा नियुक्त गरेको हो ।