वीरगञ्ज । पर्साको वीरगञ्ज र रक्सौल मितेरी पुलको मर्मतको काम आइतबारबाट सुरु भएको छ । महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा मर्मतको काम सुरु भएको हो । वीरगञ्जको रजतजयन्ती चोकदेखि मितेरी पुलसम्मको सडक जीर्ण हुँदा पटक पटक सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । महानगरपालिकाका मेयर सिंह आइतबार आफै मितेरी पुल पुगेर स्थलगत अवलोकन गर्दै जीर्ण सडक मर्मतको काम अघि बढाउन लगाएका हुन् । सडक विभागअन्तर्गत रहेको यो पुल र सडक विभागले मर्मत नगर्दा वर्षौँदेखि जीर्ण छ । महानगरपालिकाले आफ्नै खर्चमा सडक मर्मतको काम अघि बढाएको हो । केही दिन अघि मात्रै मितेरी पुलमा रहेको खाल्डामा इरिक्सा पल्टँदा यात्रुहरु घाइते भएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।जीर्ण सडकका कारण आउ जाउ गर्न कठीन भएकाले विभागको स्वीकृतीमै महानगरले काम अघि बढाएको हो ।