जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बच्चा चोरीको एक पछि अर्को घटना देखिन थालेको छ । पछिल्लो पटक हराएको दुई सातापछि प्रहरीले बच्चासहित एक महिलालाई पक्राउ गरेको छ ।
भारतको बिहार सीतामढी घर भई जनकपुरधाम उपमहानगरपालिका– ७ भ्रमरपुरा बस्ने हरिओम चौधरीका ४ बर्षीय छोरा सोहनकुमार ६ असारको साँझ ६ बजेतिर हराएका थिए । सीसीटीभी फुटेज हेर्दा एक महिलाले बच्चा लिएर चोकतिर गइरहेको देखिएको थियो ।
हराएको बच्चासहित महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ६५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । खातुनलाई उनको घरबाटै बच्चासहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
फेला परेका बच्चाको कपाल काटिएको र टाउकोको एक ठाउँमा घाउ बनेको देखिएको छ । पक्राउ परेकी महिला उपर अपहरण तथा शरीर बन्धक शीर्षकमा अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए ।