

पर्सा l वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कसैको मुखपत्र भएर पत्रकारिता नगर्न सुझाव दिनु भएको छ । नेपाल पत्रकार महासंघ पर्साको आयोजना र वीरगञ्ज महानगरपालिकाको सहयोगमा दुई दिने छापामाध्यम आवद्ध सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रमको समापन सत्रका प्रमुख अतिथी मेयर राजेशमान सिंहले सबैलाई निष्पक्ष पत्रकारिता गर्न आग्रह समेत गर्नु भएको छ । वहाँले जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दै सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि महानगरको जहिले साथ रह्ने प्रतिवद्धता जाहेर गर्नु भएको हो । वीरगञ्जको पत्रकारहरुको लागि क्षमता अभिवृद्धिमा महानगरले सधैँ सहयोग गर्ने मेयर सिंहले बताउँनु भयो । राजनीति गर्न चाह्ने पत्रकारहरुलाई जहाँले खुल्ला रुपले राजनीतिमा लाग्न सुझाव समेत दिनु भएको छ ।
महासंघको सभाहलमा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेशमा महासचिव श्याम बन्जाराले मन्तव्य व्यक्त गरेका थिए । शाखा अध्यक्ष अनुप तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव भूषण यादवले गर्नु भएको थियो । दुई दिने क्षमता अभिवृद्ध तालिममा पर्साका ३९ जना सञ्चारकर्मीले सहभागिता जनाएको कोषाध्यक्ष सन्जीव मिश्राले जानकारी दिनु भयो ।