वीरगञ्ज । निजी विद्यालयको चर्काे शूल्कको विरुद्धमा आन्दोलित अभिभावकहरुले वीरगञ्जमा सिठी जुलुश निकालेका छन् ।अभिभावक संघर्ष समिति पर्साले बिहिवार साँझ वीरगञ्जमा सिठी जुलुश निकालेका हुन् । वीरगञ्जको घण्टाघरबाट शुरु भएको सिठी जुलुश माईस्थान, आदर्शनगर हुँदै अलखिया मठ भएर ग्रिनसिटी चोक, घडिहर्वा पोखरीबाट पुनः घण्टाघरमा आएको कोणसभामा परिणत भएको थियो ।
अभिभावक संघर्ष समिति पर्साका संयोजक सन्दिप साहको नेतृत्वमा निस्किएको सिठी जुलुशमा सहभागी अभिभावकहरुले निजी विद्यालयको मनपरी शूल्कको विरुद्धमा नाराबाजी गर्दै सिठी बजाएका थिए । ‘निजी विद्यालयले मनोमानी शूल्क लिन पाईँदैन, स्कुल ड्रेस तथा पुस्तकमा लिने कमिशन खारेज गर, धरौटी शूल्क अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले निश्चित मापदण्डका आधारमा शूल्क निर्धारण गरेर लिनुपर्ने बताए । विद्यालय शिक्षाको मन्दिर भएको हुँदा व्यापारीकरण गर्न नहुने भन्दै विद्यालयमा हुने भ्रष्टाचारको अन्त्य गरेर ज्ञान आर्जनको थलो बनाउनुपर्ने वक्ताहरुको भनाई छ ।
संघर्ष समितिका अध्यक्ष सन्दिप साहको अध्यक्षतामा भएको सिठी जुलुशमा संघर्ष समितिक उपाध्यक्ष लक्ष्मण साह, सचिव धर्मेन्द्र पासवानसहित समितिका पदाधिकारी सदस्यहरु लगायतको उपस्थिती रहेको अभिभावक संघर्ष समितिका सदस्य हरेन्द्र यादवले जानकारी दिए ।
