वीरगंजबाट दुर्ई दिनअघि एक लाख ७० हजार रुपियाँ सेवाग्राहीबाट घूस लिंदै गर्दा पक्राउ परेका प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सबइन्जिनीयर रूपेश दुबेमाथि जिल्ला प्रहरी कार्यालय, पर्साले ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ। पर्सा प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ठगी तथा आर्थिक लाभ मुद्दामा अनुसन्धान थालिएको बताए।
सेवाग्राहीसँग घूस लिइरहेको पूर्वसूचनाको आधारमा वडा प्रहरी कार्यालय, बिर्ताको टोलीले दुबेलाई कार्यालयबाट घूस रकमसहित नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडालाई आवश्यक कारबाईको लागि बुझाउन राय सल्लाह पर्सा प्रहरीले लिंदा प्रहरीलाई नै मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव आएपछि प्रहरीले ठगी मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको हो।
सबडिभिजन वन कार्यालय वसन्तपुर र सबडिभिजन वन कार्यालय मनवामा १७ लाख रुपियाँँको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्याङ्कन गरिदिने बहानामा ठेकेदारबाट रकम लिंदै गरेको अवस्थामा दुबे पक्राउ परेका थिए। दुबे धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं २४ निवासी हुन्।
पर्सा जिल्लाको असारे विकासको काममा घूसविना कुनै काम हँुदैन भनी यो घटनाले पुष्टि गरेको छ। अहिले पर्सा जिल्लाका १४ वटा पालिका र सङ्घ/प्रदेश सरकार मातहत रहेको जिल्लास्तरका कार्यालयहरूमा बजेट सिद्धयाउने काम भइरहेको छ। सोही क्रममा कर्मचारीहरूले बिल पास गरेबापत घूस लिने गरेका छन्। पक्राउ परेका दुबे शहरी विकास तथा भवन डिभिजन कार्यालय, वीरगंजका प्रमुख रुद्र दासका दाहिने हातको रूपमा चिनिन्छन्। पक्राउ परेपछि विभिन्न योजनाका फाइलहरू गायब पारिएका छन्। जिल्लास्तरका विभिन्न योजनामा काम गर्ने ठेकेदारहरू दैनिकरूपमा कार्यालय धाइरहेका छन् तर असार मसान्त सकिन लाग्दा घूस प्रकरणले कार्यालयमा खैलाबैला मचेको छ। कर्मचारी आफ्नो निकै नजीकका ठेकेदारहरूलाई कोठामा बोलाएर फटाफट फाइलको काम गरिरहेका छन्। कार्यालयमा काम गरियो भने घूस लिन दिन अप्ठेरो पर्ने भएकोले फिल्डमा छु भनी सेवाग्राहीलाई ढाट्ने पनि गरेका छन्।
दुबे पक्राउ परेका दुर्ईवटा १७ लाखको योजनामा २० प्रतिशत कमिशन लिएर १० प्रतिशत शहरी भवन कार्यालय र १० प्रतिशत डिभिजन वन कार्यालयलाई बाँडफाँड गर्ने आन्तरिक सहमति भएको कर्मचारी स्रोतले बताएको छ।