सर्लाही । सर्लाहीको लालबन्दी न.पा.१ नवलपुरबाट बिहीबार दिउँसो भारी परिमाणमा लागूऔषधसहित एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह रहेका हुन् । सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लालबन्दी नगरपालिका १ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित सिंहलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण पोखरेलले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि आफूले राखेको बोरा लैजान दबाब दिएपछि उखुबारीमा लगेर लुकाएको खुल्न आएको एसपी पोखरेलले बताउनुभयो ।
प्रहरीले सिंहको कोठाबाट कोरेक्सको दुईवटा खाली बोतल पनि बरामद भएको छ । वरिष्ठ हवल्दार सिंहलाई अहिले इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । रौतहट घर भएका सिंहको दरबन्दी इलाका प्रहरी कार्यालय बोयाङ भोजपुरको रहेपनि उनी इप्रका नवलपुरमा काजमा कार्यरत थिए ।
सिंह यहाँबाट रमाना बुझेर भोजपुर जाने तयारीमा थिए । प्रहरीले तीनदिन अघिमात्रै नवलपुरबाटै ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको थियो । जब प्रहरीले नै यस्ता गतिविधि गर्न थाले आम जनताले के सिकला त।