वीरगन्ज । वीरगन्ज पथलैया औद्योगीक मार्ग बिस्तार आयोजना कार्यालय, पथलैया अन्तर्गत सडक विभागको मिलोमतोमा नियम मिचेर आफू खुशी फुटफाटलाई साँघुरो बनाई मनोमानी तरिकाले काम हुदै आएको स्थानियहरुले आरोप लगाएका छन् ।
आयोजना कार्यालय पथलैयाका केहि कर्मचारीहरुको मनोमानीले सडकको चौडाइ घटाउने काम भएको पाएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय, मातहतका एकजना परवानीपुरका स्थानीय कर्मचारीले परवानीपुर बजारको सडकको चौडाइ घटाउने काम गरेको फेला परेको छ । त्रिभुवन राजमार्ग सडक खण्डको गण्डक देखि पथलैया सडक खण्ड अन्तर्गत परवानीपुरमा ५ फिट जग्गा बचाउन लाखौं लाख रुपैयाँको चलखेल भएको स्थानियहरुले बताएका छन् ।
परवानीपुरको पुरानो बजार क्षेत्रमा रहेको नूर आलमको घरनजीकै सडकको चौडाइ करीब तीन मिटर घटाएर नाला बाङ्गो गरी निर्माण भइरहेको स्थानीयहरूले बताएका छन् ।
धर्मेन्द्र ठाकुरको डेढ धुर जग्गा बचाउनको लागि आयोजना कार्यालयका इन्जिनीयर सुरेन्द्र साह र एकजना स्थानीय कर्मचारीले जग्गाधनीसँग घूस लिएर यस्तो काम गरेको स्थानीयहरुले आरोप लगाएका छन् । केहि व्यक्तिको जग्गा बचाउन प्राविधिक र ठेकेदारलाई एक लाख घूस दिइएको पनि खुलेको छ ।
परवानीपुरको ड्रोविङ नक्शा सडक विभागले देखाउन नमानेकामा कार्यालय लगायत सम्पूर्ण कर्मचारीको मिलोमतो रहेको नाम नखुलाउने शर्तमा एक जनाले बताएका छन् साथै न्याय नपाए अख्तियार सम्म जाने उनको भनाइ रहेको छ ।
सडकको माध्यम भाग ( बीचको भाग ) देखि नालाको किनार सम्म २५ मीटर चौडाई पुग्नु परेमा हाल त्यहाँ २२ मीटर देखि २३ मीटर सम्म रहेको छ । २ मीटर जग्गा बचाउनका लागि लाखौं लाख रकमको चलखेल भएको स्थानियहरुले बताउँछन्।
यस विषयमा आयोजना कार्यालयका मनीषकुमार साहसँग बुझ्दा आफूलाई जानकारी नभएको र फिल्डमा गएर घटनाबारे छानबीन गर्ने बताए । उनले आयोजना अन्तर्गत लापरवाही गर्नेमाथी छानबिन गरेर कारवाही गरीने पनि बताए ।