काठमाडाैं । सरकारले प्लास्टिकका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाएकाे छ ।४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा आजदेखि पूर्ण रुपमा रोक लगाइने वन तथा वातावरण मन्त्रालयकाे वातावरण विभागले जनाएकाे छ । ४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियम आजबाट कडाइसाथ लागू हुने विभागले सूचनामार्फत जानकारी दिएकाे छ ।
आजदेखि अगुमानलाई तिब्रता दिइने र अटेर गरे कारबाही हुने विभागले चेतावनी दिएकाे छ । विभागका अनुसार आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गरिए वातावरण संरक्षण ऐन २०७७ बमोजिम कारबाही हुनेछ ।
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको विभागले जनाएकाे छ । यस्ता झोला प्रयोगपछि जथाभावी फाल्ने गर्दा खोला तथा नदीमा प्रदूषित भएको र ढल तथा पानीका निकासका पाइपमा जम्मा भइ ढल निकासमा समेत बाधा उत्पन्न भएको विभागले जनाएकाे छ ।
यसअघि सरकारले ०७८ असोज १९ मै राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकका झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । यद्यपि कोभिड महामारीका बेला अनुगमन फितलो हुँदा फेरि प्लास्टिकका झोला उत्पादन र प्रयोग बढेको विभागले जनाएको छ । वातावरण प्रदुषण भएकाे भन्दै विभागले प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा फेरि कडाइ गरेकाे हाे ।