वीरगन्ज । पर्सा प्रहरीलाई चुनौती दिदै चोरका समूहले अब वीरगन्जमा ठूला ठूला सवारी साधन नै चोरी गर्न थालेका छन । वीरगञ्जको बसपार्क नजिकबाट यात्रुवाहक बस चोरी भएको छ । बसपार्क नजिक भिषवा चोकमा पार्किङ गरेर राखेको निजी ना ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको हो ।
आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको प्रहरीले जनाएको छ ।भिस्वा होटल जाने ईनरवाईपास सडक छेउमै रहेको खाली जग्गामा बसका सह चालक पार्किङ्ग गरी खाना खान गएको बेला आईतबार दिउँसो करिब १ बजेको समयमा बस चोरी भएको बसका साहु लक्ष्मी नारायण रौनियारले बताए । घटना बारे प्रहरीलाई मौखिक जानकारी गराउँदा पनि आईतबार बेलुका सम्म बस नभेटिएपछि बस चोरी भएको आशंकामा खोजतलास गर्न रौनियारले सोमबार बिहान जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी नै दिएका छन । निवेदन परेसँगै खोजी तिब्र पारिएको प्रहरीले जानकारी दिएको छ तर हल सम्म बस फेला नपरेको प्रहरीले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साले आफै घटनाको छानविन शुरु गरेको बुझिएको छ । पिडितको लिखित उजुरी परेपछि छानविन शुरु भएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दिपक गिरीले घटना बारे अनुसन्धान गर्ने काम भईरहेको बताए । उनले भने, ‘ घटना स्थलमा सिसि क्यामरा जडान गरिएको जानकारी पाएका छौ, त्यसकै आधारमा छानविन तथा अनुसन्धानको प्रकृया अगाडी बढाएका छौ । दुई तीन दिन देखि घटना स्थलमा बस पार्किङ्ग गरि राखिएको थियो, आफनो साथीहरुले लगेको हुन सक्ने आशंका थियो तर चोरी भएको उजुरी नै परेपछि घटनालाई गम्भिरता पूर्वक लिएर अनुसन्धान गर्ने काम गरीरहेको उनले बताए ।