जनकपुरधाममा दुई छिमेकीको झगडामा ट्राफिक प्रहरीले एक पक्षलाई हातपात गरेको पाइएको छ । जनकपुरधाममा हुने अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्नुको साटो दुई छिमेकीको झगडामा सहभागी भएर ट्राफिक प्रहरीका वरिष्ठ सईले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भाइरल भिडियोमा देखिएका अनुसार ट्राफिक प्रहरीका वरिष्ठ सई राजिव तिवारीले घरायसी झगडामा कुनै एकपक्षमा लागेर कुटपिटमा उत्रेका हुन् ।सोमबार वरिष्ठ सई तिवारी घरायसी विवाद मिलाउन पुगेको र त्यसमा पनि उनी दबंग शैलीले प्रस्तुत भई एक सर्वसाधारणलाई कुटपिटसमेत गरेको घटना बाहिरिएको हो ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ मा घर निर्माण गरिरहेका बेचन साहको घरमा पुगेर ट्राफिक प्रहरीका वरिष्ठ सई तिवारी बर्दीमै पुगेर उनीमाथि हातपात गरेका हुन् ।सोही ठाउँ बस्ने आलोक ठाकुर र बेचन साहबिच भएको सामान्य विवादका क्रममा आलोक सई तिवारीको साथी रहेकोले उनको पक्षमा गुण्डाशैलीमा प्रस्तुत भई तिवारीले आफूलाई कुटपिट गरेको बेचनले बताए । उनले तिवारीले आफूलाई लछारपछार समेत गरेको बताए ।
बेचनले आफ्नो निर्माणधिन घरमा मजदुरहरुले काम गरिरहेको बेला सोही बाटो हुँदै गईरहेको क्रममा आलोक ठाकुरको शरीरमा माथिबाट सिमेन्ट झरेको र सोही रिसिइबीका कारण आफूलाई ट्राफिक प्रहरी बोलाएर कुटपिट गर्न लगाएको आरोप लगाए ।उनले यसअघि पनि आलोकले आफूसँग पटक पटक झगडा गर्दै आएको र पछि सोही ट्राफिकलाई बोलाएर आफूमाथि कुटपिट गर्न लगाएको बताए ।
यता, वरिष्ठ सई तिवारीले आफ्नो शरीरमाथि साहको घरमा काम गरिरहेका मजदुरहरुले सिमेन्ट फालेकोले आवेशमा आएर यस्तो भएको हुनसक्ने स्वीकार गरेका छन् । उनले त्यतिबेला आफू आवेशमा आएकोले आफूसँग सामान्य गल्ती भएको हुनसक्ने बताए ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक चन्द्रभुषण यादवले ट्राफिक प्रहरीको मुख्य दायित्व भनेकै ट्राफिक व्यवस्थापन रहेको र आफुले पनि भाइरल भिडियो देखेको भन्दै उनले ट्राफिक प्रहरीले झै झगडा देखेमा सम्बन्धीत निकायलाई जानकारी गराउनुपर्ने रहेको बताए ।उनले झैझगडा भइरहेको अवस्थामा सम्बन्धीत निकाय नभए ट्राफिक प्रहरीले उनीहरुलाई सम्बन्धीत निकायमा पु¥याई दिनुपर्नेमा त्यस्तो नदेखिएकोले यस सम्बन्धमा छानविन सुरु गरेको बताए । उनले भिडियोमा देखिएको अनुसार ट्राफिक प्रहरीकै गल्ती देखिएको स्विकार गरे ।