सर्लाही। चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । यस्तै चारजना घाइते भएका हुन् । सर्लाहीको ईश्वरपुर नगरपालिकामा १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चट्याङले लागेर स्थानीय २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।चट्याङले लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएकोे थियो । उपचारको क्रममा राति चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
यस्तै चट्याङले लागेर घलानकी श्रीमती २६ वर्षीया साइली भनिने नन्दीमाया घलान, २७ वर्षीय वुद्धबहादुर पाख्रिन, ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीय रुद्रबहादुर स्याङतान घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।