धनुषा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरको फाइल नियन्त्रणमा लिएको छ । यातायात कार्यालय वीरगन्जमा सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेहरूलाई जनकपुरको सर्भरबाट उत्तीर्ण गरी लाइसेन्स दिएको सार्वजनिक भएपछि आयोगको टोलीले फाइल नियन्त्रणमा लिएको हो ।
आयोगले लाइसेन्ससम्बन्धी गरिएको निर्णय पुस्तिका र अन्य केही फाइल अनुसन्धानका लागि लगेको यातायात कार्यालयले जनाएको छ । कार्यालयका एक कर्मचारीका अनुसार आयोगले जनकपुर र वीरगन्जका कर्मचारीलाई हेभी सवारीसाधन चालकको परीक्षामा यातायात कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको बारे जवाफसमेत मागेको छ ।
यातायात कार्यालय वीरगन्जमा ‘जी’ समूह (हेभी सवारी) चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरको सर्भरबाट मध्यराति पास देखाइएको थियो ।
यातायात कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको युजर (खाता) प्रयोग गरेर लाइसेन्सका लागि पास देखाइएको हो । यसबारे समाचार आएपछि ६२ जनाकै लाइसेन्स रद्द गरिएको छ ।
यातायात कार्यालय जनकपुरका प्रमुख वीरेन्द्र साहका अनुसार ईडीएलभीआरएस सर्भरमा समस्या आएको दिन कार्यालयको जानकारी बिना सर्भरमा ६२ जनाको नामा इन्ट्री भएको हो ।
जनकपुरको सर्भरबाट वीरगन्जमा फेल भएकालाई पास गराइएको दिन यातायातका तीन कर्मचारी कार्यालयमा आएका थिए । कार्यालय नजिकैको एक होटलमा बसेका विभागका कर्मचारीकै संलग्नतामा अवैध लाइसेन्स वितरण भएको हुन सक्ने उनले आरोप लगाए ।