

नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको आयोजनामा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । बडा दसैं, नेपाल सम्वत्, तिहार र छठ पर्वको अवसर पारेर नगर कमिटीले बकुलियामा कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्यसहित केन्द्र, प्रदेश र जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए । शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले मंसिर ४ गतेको निर्वाचनमा पनि एमाले ठुलो पार्टी बन्नेमा दुई मत नरहेको बताए ।एमालेको सरकार हुँदा भएको विकास र वर्तमान गठबन्धनको सरकारको पालामा भईरहेको सत्ताको चलखेल जनतासामु छर्लङ्ग रहेको भन्दै नेता पौडेलले जनता अब आफै निर्णय लिने बताए । सत्तारुढ गठबन्धनको उदेश्य सत्ता टिकाउने र सत्तामा बस्ने भन्दा अरु केही नभएको भन्दै नेता पौडेलले देश निर्माण र जनतामुखी काम एमालेले मात्रै गर्ने बताएका छन् ।कार्यक्रममा एमालेकी पोलिटव्युरो सदस्य ज्वालाकुमारी साहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण नभएसम्म देशको बिकासले गति लिन नसक्ने दाबी गरिन् । यस्तै एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरीले निस्वार्थ भावनाले एमाले जिताउन अभियानमा लाग्न नेताकार्यकर्तालाई आग्रह गरिन् । टिकट नपाएकै कारण असहयोग गरेर आफ्नै उम्मेदवार हराउने प्रवृति अन्त्य हुनुपर्ने चौधरीको भनाई थियो ।कार्यक्रममा निवर्तमान प्रदेश सांसद एवम् हालै एमाले फर्किएका नेता सुन्दर विकले राजनीतिमा भुल भएको र त्यही भुल सच्याउदै लामो समय योगदान गरेकै पार्टीमा फर्किएको बताए । माधवकुमार नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी पार्टी कांग्रेसको भातृसंगठनको रुपमा मात्रै सक्रिय रहेको नेता विकको भनाई थियो ।कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, निवर्तमान प्रदेश सांसद सिता गुरुङ, एमाले सचिवालय सदस्य मनोज पौडेल, तारा कार्की, जिल्ला कमिटी सदस्य कासिम हुसेनलगायतले सम्बोधन गरेका थिए ।नगर कमिटीका अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव रत्न उप्रेतीले गरेका थिए । कार्यक्रममा उपसचिव त्रिलोक विक्रम शाहले स्वागत मन्तब्य राखेका थिए ।कार्यक्रममा एमालेको प्रदेश, जिल्ला, नगर र वडा कमिटीका पदाधिकारी तथा सदस्य, जनवर्गिय संगठनका प्रतिनिधि, एमालेका कार्यकर्ताको उपस्थिती रहेको थियो ।