वीरगन्ज । नेकपा एमाले पर्साको क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताले नेकपा एमाले जनताको सुख दुःखमा साथ दिने पार्टी भएको बताउनु भएको छ ।
नेकपा एमाले क्षेत्र नं ३ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले जसले जनताको दुःख सुखमा साथ दिन्छ त्यो नै जनताको पार्टी र ती नेता नै जनताका नेता भएको बताउनु भयो । अरू पार्टी र पात्रसँग एमाले पार्टी र नेता कार्यकर्तालाई तुलना गर्न नसकिने बताउनु भयो । ‘हाम्रो पार्टीमा बसी खाने छैनन्, हाम्रो पार्टीमा ठगी खाने छैनन्, एमाले गरी खानेको पार्टी हो, ठगी खानेको होइन’, उहाँले भन्नु भयो ।
नेकपा एमाले जब सरकारमा पुग्छ त्यस बेला देश विकासको नयाँ अवधारणा ल्याएको उहाँले उदाहरण दिनु भयो । एमाले विकासको संवाहक पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । मतदाताले मतदान गर्नु अघि कुनै पनि पार्टी र त्यसका उम्मेदवारको नीति, व्यवहार र प्रवृत्ति हेर्न उहाँले आग्रह गर्नुभयो ।
नेकपा एमाले जहिले खुल्ला र स्वच्छ प्रतिस्पर्धाको पक्षमा रहेको बताउँदै जनताको बिचमा प्रतिस्पर्धाबाट एमाले अब्बल पार्टीको रूपमा स्थापित भएको प्रष्ट पार्नुभयो । एमाले जहिले पनि जनताको बिचमा रहेको गुप्ताले बताउनु भयो ।
गुप्ताले अहिलेको सत्ता गठबन्धन देश, जनता र राजनीतिक हितमा नभएको प्रष्ट पार्नुभयो । गठबन्धन गठबन्धन गर्ने पार्टीकै हितमा समेत नरहेको गुप्ताले बताउनु भयो । गठबन्धन केही व्यक्तिको निहित स्वार्थ र हितमा रहेको बताउनुभयो । ‘अहिलेको गठबन्धन दूधमा रक्सी मिसाएको जस्तै हो’, गुप्ताले भन्नु भयो ।
नेकपा एमाले कहिल्यै पनि जनताको बिचमा जान नडराउने पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । जनताले जहाँ राख्छ त्यहीँ बस्न एमाले सधैँ तयार रहेको उहाँले बताउनुभयो ।
जनताले अब परम्परागत विकास होइन फड्को मार्ने खालको विकास खोजेको गुप्ताले बताउनुभयो । त्यसको लागि एमालेको सरकार आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले प्रतिको जनतालाई कहिल्यै पनि खस्कन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।