वीरगन्ज । नेकपा एमाले पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार गुप्ताले देशको सच्चा पहरेदार , देश बनाउने विचार, नीत र सोच भएको एक मात्र पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।
नेकपा एमाले पर्सा क्षेत्र नं ३ मा मतदाताहरुसंग भेटघाट कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवंम पर्सा जिल्ला सह इन्चार्ज तथा संविधान सभा सदस्य समेत रहेका नेता गुप्ताले देश विकास र समृद्धिको सपना साकार पार्ने पार्टी नै एमाले भएको बताउनुभयो । ‘एमाले जनताको प्यारो पार्टी हो’, गुप्ताले भन्नुभयो ।
एमाले नेपालको राजनीतिक दल मध्ये सर्वोत्कृष्ट विचार र अनुशासन बोक्ने पार्टी भएको उहाँले दाबी गर्नुभयो । यी सबै कुराले अब निर्वाचन एमालेले नै जित्ने उहाँले बताउनुभयो । ‘गठबन्धनसँग डराउने काम छैन, चुनाव एमालेले जित्छ, ढुक्क भएर लागौँ’, गुप्ताले भन्नुभयो ।
गुप्ताले पार्टी कार्यकर्तालाई कुनै दुबिधामा नपरी चुनावी अभियानमा होमिन पनि आह्वान गर्नुभयो । आई पर्ने सबै समस्या र अप्ठेरोको सामना पार्टीले गर्ने उहाँले बचन दिनुभयो ।