वीरगञ्ज । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका सार्वजनिक स्थानमा आचारसंहिताविपरित लगाइएका चुनावी प्रचारका सामाग्री निर्वाचन आयोगले हटाउन थालेको छ । राजनीतिक दल एवम् उम्मेदवारहरुले आचारसंहिताको उल्लंघन गरेर प्रयोग गरेका चुनावी प्रचारका सामाग्री आयोगले हटाउन थालेको हो ।


पर्साको क्षेत्र नम्बर १ , २ , ३ र ४ का दल एवम् उम्मेदवारले आचारसंहिताको बढी उल्लंघन गरेर चुनावी प्रचार गरीरहेको पाइएको हो । क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबनधनका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले केही दिन अघि ठूला ठूला साउण्ड बक्समार्फत प्रचार गरेका थिए भने ठूलो ठूलो ब्यानरसहित प्रचार गरेर यादवले निर्वाचन आचारसंहिताको ठाडो रुपमा उल्लंघन गरेका छन् त्यस्तै २ मा प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार अजय चौरसिया ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजाल र प्रदेश सभा सदस्य पदका उम्मेदवार सिघासँन साल कलवारले पनि निर्वाचन आचारसंहिता विपरीत ठूला ठूला होडिङ बोर्ड ठाउँ ठाउँमा लगाई चुनावी प्रचार प्रसारमा ब्यानरसहित प्रचार गरेर निर्वाचन आचारसंहिताको ठाडो रुपमा उल्लंघन गरेका छन् । पर्सा जिल्लाका उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै प्रचारप्रसार गर्दा पनि मौन बसेको भन्दै निर्वाचन आयोगले शुक्रवार देखि सक्रियता बढाएको हो ।
निर्वाचन कार्यालयका आचारसंहिता उल्लंघन अनुगमन अधिकृत रुद्र कार्कीको नेतृत्वमा सुरक्षाकर्मीसहित खटिएको टोलीले शुक्रबार पोखरीया नगरपालिका, विन्दवासिनी र पकाहामैनपुर गाँउपालिकाका विभिन्न स्थानमा पुगेर आचारसंहिताविपरीत प्रयोग गरिएका चुनावी प्रचारका सामग्री हटाएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित खटिएको टोलीले पोखरिया नगरपालिकाको पोखरिया बजार, बिन्दवासनी गाउँपालिकाको अमरपट्टी, प्रसौनिभाठा तथा पकहामैनपुर गाउँपालिकाको पकाहास्थित सडकका पोल, सरकारी कार्यालय लगायतका सार्वजनिक स्थलमा दल र उम्मेदवारहरूले राखेका झण्डा, ब्यानर, साइन बोर्ड, पोष्टर र पम्प्लेटहरू हटाएको हो ।
पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले दल र उम्मेदवारहरूले फेरि अटेर गरी त्यस्ता गतिविधि गरेको पाइए निर्वाचन ऐन अनुसार कारबाहीको दायरमा ल्याइने चेतावनी पनि दिएका छन् ।