वीरगन्ज । ठेकेदारहरु संसद भएपछि सत्ताको आडमा कसरी करोडौँ रुपैयाँ आर्जन गर्छन् ? त्यसको प्रत्यक्ष उदाहरण बनेका छन् पर्साका निवर्तमान प्रदेश सांसद सिंगासन कलवार । मधेश आन्दोलनको राप तापमा २०७४ मा पर्साको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन कलवार जितेका थिए । पर्सा जिल्लाको क्षेत्र नं. ४ “ख”को जसपा एमाले गठबन्धनका उम्मेदवार सिंगासन सा. कलवारले मतदाताहरुलाई रिझाउने प्रयास गरेपनि यसपालि उनलाई मत नदिने मुड बनाएका छन् ।
प्रदेश सभा सदस्यमा चुनाव लडेका कलवारले २०७४ सालको निर्वाचनमा मतदाताहरुलाई झुक्याउदै जिते पनि यसपालि उनले नजित्ने चर्चा मतदाताहरुले गर्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै आफ्नो मत कस्ता उम्मेदवारलाई दिने भन्ने चर्चा र चासो आम मतदाताहरूबीच बढ्दै गर्दा “ख”का मतदाताहरूले पनि यस पटकको चुनावमा आफूले चुन्ने प्रदेशसभा सदस्यको विषयमा गम्भीर चर्चा परिचर्चामा जुटेको स्थानियहरुले बताएका छन् ।
प्रदेशमा आफ्नै पार्टीको सरकार बनेपछि सिंघासनले पोखरी सौन्दर्यकरण अधिकांश ठेक्का आफ्नो निर्माण कम्पनीलाई पार्न लगाएका छन् । रन्जन निर्माण सेवा सिंगासनको कम्पनी हो । सिंघासनकी श्रीमती आशा देवी गुप्ता निर्माण सेवाकी सञ्चालक हुन् ।मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग निकटताको आडमा सिंघासनले प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरण, सडक निर्माण लगायतका अधिकांश ठेक्का आफ्नै कम्पनीलाई पार्न लगाएको पाइएको छ ।
आफ्नो पद र मूख्यमन्त्री लालबाबु राउत सँग लाभको सम्बन्धको आडमा पर्साको वीरगंज स्थित मुर्ली र नगवा पोखरी लगायत मधेश प्रदेशका अधिकांश ठेक्का पट्टाको कामलाई अल्पत्र पार्नुको साथै अनियमित्ता गरी कमाएका अकूत सम्पत्तिको केही अंश खर्चेर टिकट लिएका र करोडौं करोड खर्च गरी जसरी पनि चुनाव जित्ने दाउमा रहेको बताईएको छ ।
सिंघासनको रन्जन निर्माण सेवाले पर्सा जिल्लामा मात्र ३० करोड ४३ लाख रुपैयाँमा ३ वटा पोखरी सौन्दर्यकरणको ठेक्का लिएको छ । मुख्यमन्त्री कार्यालयबाट लगाइएको ठेक्का ३ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि हालसम्म कुनै पनि पोखरीको सौन्दर्यकरणको काम सम्पन्न भएको छैन् ।
मुर्ली पोखरीमा काम गरेर साढे ५ करोड र नगवा पोखरीमा काम गरेको वापत करिब ४ करोड रुपैयाँ भुक्तानी रन्जन निर्माण सेवाले लिइसकेको छ । वीरगन्जको नगवा र मुर्ली पोखरी अहिले अलपत्र परेको छ । पटकट पटक म्याद थप्दा पनि पोखरी सौन्दर्यकरणको काम अधुरै छ ।
वीरगंज महानगरपालिकाको मुर्लीमा रहेको पोखरीमा कलवार संलग्न रहेको कम्पनीकै लापरवाहीका कारण दुई जना बालकले अकालमै डुबेर ज्यान गुमाउनु परेको दुःखद घटना अहिले पनि वीरगंजवासीको मनमा ताजै छ ।
२०७५/७६ मै रन्जन निर्माण सेवाले छिपहरमाईको पोखरी पनि सौन्दर्यकरण गर्ने काम पाएको थियो । १० करोड ४४ लाख रुपैयाँको उक्त ठेक्काको २ करोड रुपैयाँ निकासा भइसकेको छ । तर, पोखरी अलपत्र छ ।