नेपालकै सबैभन्दा ठूलो स्टील उद्योगको रूपमा चिनिने बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टीलका म्यानेजिङ डाइरेक्टर (एमडी) अनुराग शर्मा र वीरगंजका एकजना हार्डवेयर व्यवसायी अनिलकुमार साह पक्राउ परेका छन् ।
पर्सा प्रहरीले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा कात्तिक २० गते पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको छ । वीरगंजको बाइपासमा रहेको अर्जुन हार्डवेयरका सञ्चालक अनुज सर्राफको जाहेरीको आधारमा दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दीपक गिरीका अनुसार करीब एक करोड रुपैयाँको ठगी घटनामा दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको हो ।
अनिलकुमार साह वीरगंज–१६ नगवाका व्यापारी हुन् । उनको वीरगंजमा अञ्जनी हार्डवेयर पसल छ । अनिलकुमार साह पहिलेदेखि जगदम्बा स्टीलसँग कारोबार गर्दै आएका पुराना व्यवसायी हुन् । २०७७ सालतिर अनुज सर्राफले आफ्नो पसलको लागि मालसामान खरीद गर्नको लागि अनिललाई लिएर जगदम्बाका एमडी शर्मालाई भेटेका थिए । त्यसपछि अनिलकुमार साहले अर्डर दिन्थ्ये र जगदम्बाले अनुज सर्राफको अर्जुन हार्डवेयरको नाममा बिलिङ गथ्र्यो ।
जगदम्बा स्टीलले अनुज सर्राफको फर्मसँग कारोबार गर्नको लागि अनुजको बुबाको नाममा रहेको घरजग्गा धितोमा राखेर एक करोड रुपैयाँको बैंक ग्यारेन्टी बनाएका थिए । २०७७ सालमैं जगदम्बा स्टीलको बक्यौता अर्जुन हार्डवेयरको नाममा करीब एक करोड पुग्दा जगदम्बाले बैंक ग्यारेन्टीबाट पैसा असुलउपर गरेको थियो । त्यसपछि बैंकले अर्जुन हार्डवेयरका सञ्चालक अनुज सर्राफलाई जानकारी गराउँदा उनी तिलमिलाएका थिए ।
सर्राफका अनुसार आफूले एक करोडबापतको सामान नै नपाएको र अनिलले सोबापतको सामान हिनामिना गरी उल्टै मेरै बैंक ग्यारेन्टीबाट एक करोड जगदम्बाले असुलेकोले यस घटनाको छानबीन हुनुपर्ने उनको दाबी छ ।
सोही क्रममा उनले २०७८ कात्तिक ३० गते ठगी तथा आपराधिक विश्वासघात मुद्दा पर्सा प्रहरीमा दर्ता गराएर छानबीनका लागि सक्रियता देखाएका थिए । हार्डवेयर व्यवसायीहरू सर्राफ र साहबीच अन्य व्यक्तिगत लेनदेनका मुद्दा पनि पर्सा जिल्लामा चलिरहेको छ । जगदम्बा स्टीलका प्रतिनिधिहरूका अनुसार जगदम्बा स्टीललाई भ्रममा राखेर अञ्जनी हार्डवेयरका सञ्चालक अनिलकुमार साहले एक करोडको ठगी गरेको दाबी गरिएको छ । यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको र दोषीलाई कारबाई र निर्दोषलाई रिहा गरिने पर्सा प्रहरीका अधिकारीहरूले बताएका छन् ।
प्रहरीले मुद्दाको फाइल सरकारी वकीलको कार्यालय, पर्सामा बुझाइसकेको र सो कार्यालयले आफ्नो प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा फाइल पेश गरेपछि थुनछेक बहस हुने पर्सा प्रहरीका प्रनाउ गिरीले जानकारी गराए ।