

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीमाथि आइतबार सदरमुकाम गौरमा आक्रमणको प्रयास भएको छ।जिल्ला प्रशासन कार्यालय रौतहटबाट बाहिरिने क्रममा वृन्दावन नगरपालिकाका केही मानिसहरूले नगर प्रमुख कुर्मीमाथि आक्रमणको प्रयास गरेका हुन्।केही समयदेखि निकै विवादमा रहेको वृन्दावन नगरपालिकामा शनिवारदेखि निरन्तर तनाव भइरहेको छ। नगर प्रमुख कुर्मीले एकलौटी गर्न खोजेको भन्दै नेकपा एमाले, नेकपा माओवादी, नेपाली काँग्रेस तथा जसपा नेपाल समेतले विरोध गरिरहेका छन्।वृन्दावन नगरपालिका अन्तर्गत पर्ने बागमती नदी र चाँदी नदीको गिटी र बालुवाको कर अमानतमा उठाउन थालेपछि वृन्दावनमा असन्तुष्टि बढेको हो। विपक्षीहरूले अमानतमा नउठाउन आग्रह गरे पनि नगर प्रमुख कुर्मीले नमानेपछि शनिवार झडपको स्थिति सिर्जना भएको थियो।नेकपा एमाले, नेपाली काँग्रेस, जसपा नेपाल तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले अमानतमा कर संकलन गर्न बनाइएको फुसको छाप्रोमा तोडफोड गरी आगोसमेत लगाएका थिए। नगर प्रमुख कुर्मीले नेकपा एमालेमा प्रेमशंकर यादव, नेकपा माओवादी केन्द्रका रामप्रसाद पटेल तथा नेपाली काँग्रेसका पूर्व नगर प्रमुख रामसिनेही यादवलगायतको समूहले नगर कर्मचारीमाथि आक्रमण गरेको आरोप लगाएका छन्। नगर प्रमुख कुर्मीले प्रहरी प्रशासनको इसारामा नै कर्मचारीमाथि आक्रमण भएको र अब प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन्।शनिवार र आइतबार वृन्दावनका धेरै ठाउँमा सानातिना झडप भएका छन्। झडपमा चार जना घाइते भएको बताइएको छ।वृन्दावन नगरपालिकाको अवस्था तनावग्रस्त बनेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले सबै पक्षलाई वार्ताका लागि आइतबार जिल्ला प्रशासन कार्यालय गौरमा बोलाएका थिए। वार्ताको क्रममा नगर प्रमुख कुर्मीले कर्मचारीमाथि हातपात गर्ने, कुटपिट गर्ने तथा आगजनी गर्नेहरूमाथि कारबाही हुनुपर्ने अडान राखी बाहिरिएका थिए।जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएपछि अर्को पक्षका मानिसहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा मुढा प्रहार गरेका थिए। नगर प्रमुखमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीको सहयोगले आफू जोगिएको नगर प्रमुख कुर्मीले बताएका छन्।नगर प्रमुखमाथि आक्रमण गर्न खोज्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू नाम खुलाइएको छैन। अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताएका छन्।