वीरगन्ज । मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले अपराध नियन्त्रणमा कुनैपनि सम्झौता गर्न नहुनेमा जोड दिएका छन् । अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षामा कुनै सम्झौता गर्न नसकिने तथा शून्य सहनशीलता अपनाएर काम गरिने उनको भनाइ छ । डीआईजी भट्टराईले अपराधरहित समाज निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।
मधेस प्रदेश प्रहरी प्रमुखका रूपमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा हाजिर भएका भट्टराईले कानुनको परिधिमा रहेर जनचाहनाबमोजिम प्रहरीले सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । आचरण र व्यवहारमा सुधार ल्याएर अपराधरहित समाज निर्माणमा अहोरात्र लाग्न प्रहरीलाई भट्टराईले निर्देशन दिएका छन्।
'अपराधरहित समाज निर्माण प्रहरीको पहिलो प्राथमिकतामा हो', उनले भने, 'कानुनको परिधिमा रहेर समाजमा हुने अनेक प्रकारका अपराध नियन्त्रणमा प्रहरी केन्द्रित हुनुपर्छ।' गृह मन्त्रालयको निर्णयअनुसार एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)बाट बढुवा भएर डिआईजी बनेका भट्टराईलाई सरकारले मधेस प्रदेश प्रहरी प्रमुखका रूपमा पदस्थापन गरेको हो।
नेपाल प्रहरीभित्र विवादरहित छवि बनाएका भट्टराईले यसअघि महत्वपूर्ण स्थानको जिम्मेवारी सम्हालिसकेका छन् । उनी अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रणमा विशेष दखल राख्ने उच्च प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनको नेतृत्वमा यसअघि विभिन्न ठाउँमा भएका चर्चित र जघन्य प्रकृतिका अपराधको अनुसन्धानलाई निस्कर्षमा पुर्याउन प्रहरी सफल भएको थियो। भट्टराईले विभिन्न जिल्ला प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिषरको समेत नेतृत्व सम्हालिसकेका छन्।