मिटरब्याजीको फन्दामा परेपछि बारा महागढीमाईका दलित परिवार एक वर्षदेखि बेघर
बारा — महागढीमाई नगरपालिका–३ गन्जभवानीपुरका विनोद महरा चमारले २०७४ मा छिमेकी राधामोहन कलवारबाट १० लाख रुपैयाँमा १० धुर घडेरी खरिद गरे । ७ लाख तिरेर ३ लाख बाँकी राखी कित्ता नम्बर १२२३, १२२४ र १२३० को घडेरी राधामोहनकै नाममा अमानतमा राखे । ३ लाख बाँकीकै कारण विनोदका नाममा जग्गा पास भएन ।


एक वर्षपछि जग्गाधनी राधामोहनले बाँकी ३ लाख रकम माग्दै ताकेता गर्न थालेपछि विनोदले पचरौता नगरपालिका–७ बेनौलीका शिवजीप्रसाद साह कलवारसित १२ लाख ऋण लिए । ३ लाखको ब्याज जोडेर राधामोहनलाई फर्काए । बचेको रकम, छिमेकीसित सापट र लघुवित्तबाट ऋण लिएर विनोदले घडेरीमा पक्की घर बनाएर बस्न थाले । पछि उनले राधामोहनसित खरिद गरेको अमानतमा रहेको घडेरी भने शिवजीको नाममा २०७७ असोजमा पास गराइदिए । घडेरी पास गरेपछि विनोदले शिवजीसित थप ५ लाख ऋण लिए । यति गरेर कुल ऋण १७ लाखको साँवा/ब्याज किस्तामा तिर्न थाले । साढे २ वर्षयता किस्तामै शिवजीलाई १४ लाख तिरिसकेको विनोदको भनाइ छ । १७ लाख ऋण दिएर घडेरी नाममा गराएको बाहेक शिवजीले विनोदका ससुरा बिजुली महरासित चेकमा सही गराएर रकम लिनुका साथै खाली चेक पनि लिएका छन् । ५० लाखको तमसुक पनि बनाउन लगाएका छन् ।
घडेरीमा विनोदले पक्की घर बनाएर बस्न थालिसकेकाले शिवजीले मासिक ६ हजार घर भाडा तिर्ने गरी करारनामासमेत बनाउन लगाएका छन् । २०७७ असोज २२ मा तीन वर्षका लागि करारनामा गरिएको हो । त्यसबेला शिवजीले घडेरी आफ्नो नाममा पास गराइसकेका थिए । करारनामामा बिजुली र पानीको रकम दुवै पक्षले तिर्ने सर्त छ ।