बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाउन समय सिमा जारी गरेको समय भित्र खाली नगरिएकोले ७ दिनको फेरि समय पालिकाले दिएको छ । पालिका अध्यक्ष प्रमोद तिवारीले एक विज्ञप्ति जारी गर्दै ७ दिन भित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाउन अनुरोध गरेका हुन् यदि ७ दिन भित्र हटाइएन भने पालिकाको जेसिवि लगाएर हटाइने विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिका भित्रका सरकारी, गुठी लगायतका सार्वजनिक जग्गामा बनाइएका घर तथा टहरा हटाउनका लागि यस अघि पनि पालिकाले ३५ दिनको समय सिमा दिएको थियो । सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनका काम गर्ने क्रममा बाधकका रुपमा देखिएपछि हटाउनका लागि समय सिमा दिइएकोमा हटाउन आनाकानी गरेकोमा पालिकाले बाध्य भई जेसिबि लगाएर चाँडै हटाइने अध्यक्ष तिवारीले जानकारी गराए ।
गाउँपालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान थालिएको कार्यालयले जनाएको छ । गाउँपालिका भित्रका सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा हटाएर खाली गर्नका लागि गाउँपालिकाले दिएको समय सिमा नाघी सकेको छ ।
‘सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन तथा अतिक्रमण गरिएका जग्गा छाड्न सूचना जारी गरी समय सिमाको फेरि ताकेता गरिएको उनले बताए । हाम्रो सूचनालाई वेवस्ता गरे प्रचलित कानुन अनुसार बल प्रयोग गरेर भएपनि चाँडै हटाइने उहाँले बताए ।