बीरगंज, चैत्र २९


पर्साको ठोरी गापा -४ मा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक सहित ४ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको विजयवस्ती प्रहरी चौकीले जानकारी दिएको छ।शनिवार साँझ बीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने ठोरी ४ ,गोपीवस्तीमा पैदल हिँडिरहेका गोपीवस्तीका ४ जना युवाहरुलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। साँझ विजयवस्तीबाट जीराभवानी गापा -३, नौकाटोला जाँदै गरेको नौकाटोलाका राम सिंह राय थारु सवार ग ९ प ९५८७ नम्बरको मोटरसाईलले ठक्कर दिँदा गोपीवस्तीका अभिशेक गोले , मधु गोले , सन्जय लामा र आनन्द परियार घाइते भएका थिए। घाइते मध्ये अभिशेक गोले र मधु गोलेको टाउको र शरीरमा गम्भीर चोट लागेको र बीरगंज स्थित एल एस न्युरो अस्पतालमा उपचारका क्रममा १९ वर्षीय किशोर अभिशेक गोलेको निधन भएको विजयवस्ती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मिन बहादुर रमौलीले जानकारी दिए। अर्का घाइते मधु लामाको गम्भीर अवस्थामा उपचार भैरहेको उनले जानकारी दिए। यस्तै घाइतेहरु सन्जय लामा र आनन्द परियारको खुट्टा र ढाडमा चोट लागेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाई छ। ठक्कर दिने मोटरसाईकल चालक थारुको टाउकोमा चोट लागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर बीरगंज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको प्रहरी सहायक निरीक्षक रमौलीले जानकारी दिए। बीरगंज ठोरी हुलाकी सडक खण्डमा कालोपत्रे भएयता ठोरीमा मोटरसाइकल दुर्घटनाको दर बढेको छ। धेरै जसो दुर्घटना मादक पदार्थ सेवन गरेर तिव्र गतिमा मोटरसाइकल चलाउँदा हुने गरेको छ।