बीरगंज, चैत ३०
कृष्ण मोहन साह
पर्साको ठोरी गाउँपालिकामा दैनिक आगलागीको घट्ना बढ्न थालेको छ। आगलागीका कारण शनिवार ठोरी २ इच्छानगरमा ६ घर जलेको थियो भने आइतवार ठोरी ३ ,रामनगरका दिल बहादुर तामाङको गोठ पुर्ण रुपले जलेको थियो । यस्तै सोमबार ठोरी ४ , स्याउलीवस्तीमा आगलागी हुँदा स्थानीय सानुकान्छा थिङ्को घर जलेर नष्ट भएको छ।
सोमबार दिउँसो करीब ३ बजेतिर विद्युत सट भएर थिङ्को घरमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको पीडित थिङ्ले बताए। आगोले जलेर थिङ्को काठको घर जलेर नष्ट भएको छ भने घरमा रहेको रु ३० हजार नगद लत्ताकपडा , तोरी , चामल लगायत महत्वपुर्ण कागजात जलेर करीब २ लाख बराबरको क्षति पुगेको आगलागी पीडित थिङ्ले जानकारी दिए।
स्थानीयबासी , नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरमा लागेको आगलागी नियन्त्रणमा लिएको भएपनि घरबाट नजिकै रहेको रुखमा सल्किएको आगो भने पोखरिया बाट आएको बारुणयन्त्र नियन्त्रणमा लिएको थियो।