बीरगंज, चैत ३०
कृष्ण मोहन साह
पर्साको ठोरी गापा -४ , गोपीवस्तीमा मोटरसाईकको ठक्करबाट घाइते भएका अर्का एक युवकको सोमबार मृत्यु भएको छ। उपचारको क्रममा घाइते २० वर्षीय युवक मधु गोलेको बीरगन्जमा रहेको एलएस न्युरो अस्पतालमा निधन भएको हो। मोटरसाईकलको ठक्करबाट उनको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
शनिवार साँझ करीब ७ बजे बीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने ठोरी ४ ,गोपीवस्तीमा पैदल हिँडिरहेका गोपीवस्तीका ४ जना युवाहरुलाई मोटरसाइकलले ठक्कर दिएको थियो। घाइतेमध्ये सोही दिन बीरगन्ज स्थित एल एस न्युरो अस्पतालमा उपचारका क्रममा १९ वर्षीय किशोर अभिशेक गोलेको ज्यान गएको थियो । साँझ विजयवस्तीबाट जीराभवानी गापा -३, नौकाटोला जाँदै गरेको नौकाटोलाका राम सिंह राय थारु सवार ग ९ प ९५८७ नम्बरको मोटरसाईलले ठक्कर दिँदा गोपीवस्तीका अभिशेक गोले , मधु गोले , सन्जय लामा र आनन्द परियार घाइते भएका थिए। घाइतेमध्ये अभिशेक र मधुको ज्यान गएको छ भने अन्य घाइतेहरु लामा र परियारको ढाड र खुट्टामा चोट लागेको र अवस्था खतरामुक्त रहेको गोपीवस्तीका स्थानीय ङेमा लामाले जानकारी दिए।
उता मोटरसाईकल चालक थारुको पनि नारायणी अस्पतालमा उपचार भैरहेको छ। उनलाई टाउकोमा चोट लागेको छ।