काठमाडौं । नेपाल बार एशोसिएशनले सरकारको सिफारिसमा हत्या अभियोग प्रमाणित भएर जेल सजाय भोगिरहनुभएका रेशम चौधरीलाई राष्ट्रपतिले माफी दिएर जेल मुक्त गराएको घटना प्रति आपत्ति जनाएको छ ।
बारले सोमबार विज्ञप्ति जारी गरेर कानुनको गलत व्याख्या र प्रयोग गर्ने छुट कसैलाई नभएको जनाउँदै सो निर्णय कानुनको गलत व्याख्या गरेर गरिएको जनाएको छ । ‘अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण तथा कानुनी शासनको विपरीतको कार्य प्रति यस एशोसिएशनले सदैव खबरदारी गर्दै आएको छ’, बार महासचिव अञ्जिता खनालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक सर्वोच्चता, कानुनी शासन, लोकतान्त्रिक मूल्य मान्यताको पूर्ण अनुशरण र परिपालना भएमा मात्र लोकतन्त्र, सुशासन, सामाजिक न्याय र पीडितले न्याय पाउने हकको सुनिश्चितता हुने बारले जनाएको छ । सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआउँदै नेपाल सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले माफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धी अवधारणा विपरीत भई यस्तो कार्यले अन्ततः दण्डहीनताले प्रशय पाउँदछ’, विज्ञप्तिमा लेखिएको छ ।