कृष्णा प्र.कुशवाहा
बीरगंज, बैशाख २
जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजबाट १ हजार ४ सय ८८ एम्पुल लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारीका २५ वर्षीय भोला दास रहेका छन् । बीरगंज महानगरपालिका वडा नं १६ रजतजयन्ती चौकमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा भोला दासको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको सेतो झोला भित्र लुकाईछिपाई ल्याएको लागू औषध सहित प्रहरीले पक्राऊ गरेको छ। उनको साथबाट प्रहरीले औषध डाइजेपाम ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी जम्मा १४८८ एम्पुल लागु औषध बरामद गरेको छ ।साथै उनीमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।