वीरगन्ज । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नयाँ नक्सा सार्वजनिक भएपछि बारासहित मुलुकभर भारतविरुद्ध प्रदर्शन भइरहेको छ । कपिलवस्तु , लुम्बिनी लगायतका नेपाली भूमि समावेश गरिएको नयाँ अखण्ड भारत नक्सा भारतले सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको हो ।
भारतले सार्वजनिक गरेको नयाँ अखण्ड भारत नक्सामा नेपालको लुम्बिनी , कपिलवस्तु क्षेत्रको भू–भाग भारतमा पारिएको छ । भारतले नयाँ नक्सामा लुम्बिनी आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको हो ।
नयाँ नक्सामा नेपाली भूमिलाई समावेश गरिएको भन्दै अखिल नेपाल किसान महासंघ बाराले शनिबार विरोध प्रदर्शन स्वरूप मसाल जुलुस निकालेको हो । उनीहरुले शनिबार बाराको कलैयामा भारतविरुद्ध नाराबाजि गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका छन् । ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै कलैयाको परिक्रमा गरेका थिए । बाराको कलैया स्थित पानीटंकीबाट सुरु भएको मसाल जुलुस भरत चौकमा पुगेर समापन भएको थियो।