वीरगञ्ज । आफ्नै १४ दिने छोराको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका वडा नम्बर ४ तिप्रडी टोल निवासी २५ वर्षीय नूर आलम अन्सारी रहेका छन् । अन्सारी वितेको जेठ १४ गते आफ्नै १४ दिने छोराको हत्या गरेर फरार थिए ।
प्रहरीले अन्सारीलाई काठमाडौँमा नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।
एसपी रेग्मीकाअनुसार अन्सारीलाई प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका – १५ ढुंगेअड्डा पिपलबोटबाट मंगलबार साँझ साढे ५ बजे लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
छोराको हत्या गरेर अन्सारी फरार रहँदै आएका थिए । फरार रहेका उनलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि उनलाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए । उनीमाथि थप अनुसन्धान गर्नका लागि प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको छ ।