वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडामा गिर चार हजार घरधुरीमा पानीकाे धारा निशुल्क जडान गर्ने भएको छ । वर्षा नहुँदा र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चाँपकलहरुमा पानी आउन छोडेपछि महानगरले पानीको आभावलाई मध्यनजर गर्दै नेपाल खानेपानी संस्थानकाे धारा नि:शुल्क जडान गर्न लागेको हो ।
अहिले गर्मीमा वीरगन्ज महानगरसहित तराई-मधेसका विभिन्न जिल्लामा चाँपाकलमा पानी आउन छाडेको गुनासो आउन थालेको छ । विद्युतीय मोटरले समेत पानी नतान्दा शहरी जीवन निकै प्रभावित बनेको छ । सोही समस्यालाई समाधान गर्न वीरगन्ज महानगरले नि:शुल्क पानीकाे धारा जडान गर्न लागेकाे हाे।
महानगरपालिकाका मेयर राजेशमान सिंहले बिहीबार बिहानै सामाजिक सञ्जाल मार्फत निःशुल्क धारा जडानका लागि वडा अध्यक्षहरुसँग सम्पर्क गर्न महानगरवासीलाई अनुरोध गरेका छन् ।