कृष्णा प्र.कुशवाहा
बीरगंज, बैशाख ५
बीरगंज महानगरपालिकाले कक्षा १ देखी ५ सम्मको सबै विद्यालयहरु भोलि सोमबारदेखि बन्द गर्ने निर्णय गरेको छ । आईतबार महानगरपालिकाका मेयर विजय कुमार सरावगीको अध्यक्षतामा बसेको महानगरपालिकाको बैठकले सोमबारदेखि कक्षा १ देखि ५ सम्मको सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देशव्यापीरुपमा फैलिएको र त्यसको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिकाहरु पर्ने भएकोले जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै बैशाख ६ गते सोमबारदेखि महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय भएको बीरगंज महानगरपालिकाका मेयरले जानकारी दिनुभयो ।कक्षा १ देखि ५ सम्मको विद्यार्थीहरुको कक्षा वृद्धि आन्तरिक मूल्यांकनको आधारमा मिलाउन समेत सबै विद्यालयहरुलाई बीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतद्वारा हस्ताक्षरित सूचनामा अनुरोध गरिएको छ।