वीरगन्ज — युरिया मल कालोबजारी गर्ने एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको मल भारतीय युरिया मलको बोरामा परिवर्तन गरी अनधिकृतरुपमा कालोबजारी गर्दै आएका पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने २८ वर्षीय दिपेशकुमार साहलाई नियन्त्रणमा लिइएको हो ।
दिपेशले वीरगन्ज महानगरपालिका–२१ स्थित हनुमान मन्दिर चोकस्थित घर भाडामा लिई ५० केजीको साल्ट ट्रेडिङले उपलब्ध गराएको युरिया मल ४५ केजीको भारतीय मलको बोरामा साटफेर गरी बिक्री वितरण गर्दै आएका थिए ।
प्रहरीले शुक्रबार छापा मार्ने क्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५० केजीको ४५ बोरा युरिया मल, भारतीय जनउर्वरक परियोजनाको ४५ केजीको १५ बोरा युरिया मल, मल ओसारपसारमा प्रयोग हुँदै आएको एउटा भारतीय नम्बरको मोटरसाइकल, साल्ट ट्रेडिङको ३२ थान खाली बोरा, भारतीय युरिया मलको १६ थान खाली बोरा बरामद गरेको प्रहरी उपरीक्षक कोमल शाहले बताए ।
साहलाई कालोबजारी कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप लिई अनुसन्धान अगाडि बढाइएको एसपी शाहले जनाए ।