मकवानपुर । मनहरी गाउँपालिका ६ डिपाट बस्ती नजिकै गएराति दुईवटा ट्रक ठोक्किएको छ । ट्रकहरु ठोक्किँदा भएको आगलागीबाट ट्रक तथा त्यसमा सवार सबै मानिसहरुको मृत्यु भएको छ । प्रहरीले तीनजना मानिस मरेको हुनसक्ने अनुमान गरेको छ । शव पूर्ण रुपमा जलेकाले दुई जना मानिस हो वा तीन जना हो भन्नेबारे यकीन भइसकेको छैन ।
आज (शनिबार) बिहात १ः४५ बजे भएको घटनापछि दुईवटा दमकल आएर आगो बल्ल बल्ल निभाइएको थियो । आगो निभाइएपछि जेसीबी प्रयोग गरी जलेका ट्रक र शवहरुहरु निकालेर राजमार्ग बिहान ६ः३० तिर मात्रै सबारी साधन सुचारु गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले बताउनुभयो ।
पूर्वतर्फबाट नारायणगढतर्फ गइरहेको ना ६ ख ६६६७ नं को ट्रक र बिपरित दिशाबाट हेटौँडातर्फ आइरहेको ना ६ ख ६३१ नंको ट्रक एकापसमा ठोक्किएर आगलागी भएको हो ।
घटना लगत्तै प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयबासिन्दाको समेत साथ लिई आगलागी नियन्त्रण गर्न खोजेपनि दमकलको अभाबमा नियन्त्रण सम्भव नभएको प्रहरी निरीक्षक कृष्णराज ढकालले बताउनुभयो ।
‘भनेको समयमा दमकल पाइएन, पछि २ वटा दमकल आएर बल्ल बल्ल आगो निभाइयो’, प्रहरी निरीक्षक ढकालले भन्नुभयो–‘भयंकर आगलागी भएका ट्रक र शवहरुलाई हटाएर अहिले बिहान ६ः३० तिर मात्रै राजमार्गमा सबारी साधन सुचारु गरिएको छ ।’