वीरगन्ज । धान रोपाइँ नभएपछि मानव जनजीवन कष्टकर भएपनि सम्बन्धित निकायको ध्यान नपुगेको भन्दै सुख्खा क्षेत्र घोषणाको माग गर्दै बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहल सुरु गरेका छन् । पालिकामा अहिले १५ प्रतिशत रोपाइँ भएको धान पनि सुक्दै गएपछि सुखा क्षेत्र घोषणा गर्न पहल सुरु गरिएको अध्यक्ष तिवारीले बताए।
गाउँपालिकाको कार्यालयमा विपत व्यवस्थापनको बैठक बसी प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकार र मधेश प्रदेश सरकारलाई सुख्खा क्षेत्र घोषणा गर्न ध्यानाकर्षण पत्र बुझाउने तयारी गरी भोलि देखि यो कार्यमा लाग्ने अध्यक्ष तिवारीले बताए । कृषिमा आश्रित बहुसंख्यक जनताको सेवा जनजीवन कष्टकर बन्दै गएको अवस्थामा सरकारको ध्यान नपुग्नु दुभाग्यपूर्ण रहेको उनले बताए ।
गाउँपालिकाको वडा नं २ र ३ मा निर्माण भएको खानेपानी ट्यांकी सञ्चालनमा ल्याउन , बिन्दबासिनी गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा , सहुलियतस्वरूप डिजेलको व्यवस्था, पर्याप्त मलखाद्य तथा व्यापक डिप बोरिङलगायत वैकल्पिक व्यवस्थाको माग गरिएको निर्णय गरी प्रदेश र संघ सरकारलाई पहल गरिने वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख रामप्रवेश साहले बताए ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , स्वास्थ्य शाखा प्रमुख नरेश चौहान , कृषि शाखा प्रमुख रमेन्द्रनाथ तिवारी , इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी , सशस्त्र प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायब उपरीक्षक लगायतको उपस्थिति रहेको थियो।