वीरगन्ज । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याइएका २६ वटा भैंसी सशस्त्र प्रहरीले पर्सा बिन्दबासिनी गाउँपालिका वडा नं ५ को प्रसौनी खोला नजिकबाट नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल प्रसौनीको टोलीले प्रसौनी हाँस्वा गाउँको बीचमा रहेको खोला नजिकबाट आज बिहान उक्त भैंसी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा २६ वटा भैंसीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
भैंसी ल्याउने व्यक्तिहरु प्रहरीलाई देखेपछि भागेका छन् । नियन्त्रणमा लिइएका भैंसीलाई भन्सारमा बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।