रौतहट,१० बैशाख


रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ को वडा कार्यालयमा एक वडा सदस्यले वडा कार्यालयमा ताला लगाइएको छ । एक वडा एक पशु सेवा केन्द्र स्थापना गर्ने स्थानिय सरकारको निति अनुसार चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ को पशु सेवा केन्द्र वडा अध्यक्ष गोविन्द दुलालले आफ्नै एकल निर्णय गर्दै सिन्दुरेघारीस्थित जयकिसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा सारेको बिरोधमा सोही वडाका एक वडा सदस्य सुनिल कुमार चौधरीको नेतृत्वमा शुक्रबार स्थानियले ताला लगाइएको वडा सदस्य चौधरीले बताउनु भयो । चन्द्रपुर वडा नम्बर ९ को डुमरियामा पुरानो नै पशु सेवा केन्द्रको आफ्नै भवन हुदा हुदै सहकारीको भवनमा पशु सेवा केन्द्र सारेको भन्दै आफुहरुले बाध्य भएर वडा कार्यालयमा ताला लगाउनु परेको स्थानिय गोविन्द चौधरीको भनाइ रहेको छ । पशु सेवा केन्द्रको भवन नै खाली राखेर सेवा केन्द्र सार्नु दुखद भएको अर्का स्थानिय ब्रजकिशोर चौधरीले बताउनु भयो । पशु सेवा केन्द्र डुमरियामा नै पुन स्थापना नगरेसम्म वडा कार्यालयको ताला नखुल्ने वडा सदस्य सुनिल चौधरीले बताउनु भयो । डुमरियामा पशु सेवा केन्द्रबाट सेवा लिने सेवाग्राहीहरु न्युन रहेको र हाल स्थापना गरिएको सिन्दुरीघारीमा ९० देखि ९५ प्रतिशत पशुहरु पालना गरेको क्षेत्र भएकाले सो स्थानमा सारिएको वडा अध्यक्ष गोविन्द दुलालले बताउन भयो । अत्याधिक सेवाग्राही भएको स्थान सिन्दुरेघारी रहेकाले अब सो पशु सेवा केन्द्र डुमरियामा पुन स्थापना नहुने र वडा कार्यालयको ताला सोही बिषयमा खोल्ने वातावरण नभएमा नगरपालिकाको कार्यालयमा बसेर भएपनि वडाबासीलाई सेवा प्रवाह गर्ने दुलालको भनाइ रहेको छ ।