बीरगंज,बैशाख १२
पर्साको ठोरी गापा -३ , रामनगर नजिकै एउटा बयस्क पाटे बाघ मृत फेला परेको छ। रामनगरको रामबुद्ध सामुदायिक वन क्षेत्रभित्र शनिवार साँझ पाटेबाघ मृत फेला परेको हो।
सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिलाई खबर गरेका थिए। मृत बाघलाई शनिवार राति नै चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए। बाघको मृत्युको कारण भने खुली नसकेको उनले जानकारी दिए।
बाघको अवस्था हेर्दा उक्त बाघ पहिलेदेखि नै घाइते भएको हुन सक्ने र सोही कारण मानिसलाई आक्रमण गरेको हुन सक्ने अध्यक्ष बस्नेतले बताए। सोही सामुदायिक वन क्षेत्रमा बितेको बिहिबार सोही बाघको आक्रमणमा परी रामनगरका पुर्ण बहादुर तामाङ घाइते भएका थिए। यस्तै सोहि दिन रामनगरका स्थानीयको आधा दर्जन भन्दा बढी खसीबाख्रा बाघले मारेको थियो।