बीरगंज, बैशाख १५
जिल्ला प्रहरी कार्यालय पर्साले बेवारिसे अवस्थामा सडक पेटीमा रहेको एउटा कार गाडी बरामद गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नं. १४ बाट नम्बर प्लेट नभएको सुजुकी कम्पनीको भारतीय नम्बर कार बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।भारतीय नम्बर कार चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण भेगमा चलाइरहेको सूचना पाई प्रहरीले कारवाहीको सिलसिलामा सो कार बरामद गरेको बताएको छ ।बेवारिसे अवस्थामा रोकिराखेको कारको हक दाबी गर्न कोही पनि नआएकाले आवश्यक कारवाहीको लागि कारको अन्दाजी मूल्य १५ लाख राखी कार बीरगंज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।