वीरगन्ज — वीरगन्ज महानगरपालिका– ४ विर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान भागेका दुई जना बाल बिज्याइँकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुवै जनालाई नेपाल भारत सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
दुवैजना शुक्रबार बिहान करिब दुई बजेको समयमा सुधारगृहको छत माथिको तारजाली काटेर फरार भएका थिए । प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार फरार रहेका दुई जनामध्ये एक जनालाई राति र अर्कोलाई आइतबार बिहान पक्राउ गरिएको हो । ‘फरार भएका दुवै जनालाई नियन्त्रणमा लिएका छौं,’ डिएसपी थापाले भने, ‘एक जनालाई सिरहा र अर्कोलाई सर्लाहीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो ।’
कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परी उनीहरु बाल सुधार गृह आएका थिए । काँडेतार काटेर उनीहरु बालसुधार केन्द्रसँग टाँसिएको घरमाथिबाट हाम फालेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।