वीरगञ्ज । वीरगञ्जमा नियमित कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ ।
वीरगञ्ज - २४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई त्यही विद्यालयका शिक्षकहरूले थुनेर राखेको घटना सार्वजनिक भएको हो ।
पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
दैनिक सात घण्टी पढाइ हुनुपर्नेमा एक घण्टीसमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरूको गुनासो छ ।
विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरूको भनाई छ ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले भने विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएको जानकारी दिए । उनले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि घटनाको छानबिन शुरु गरिएको बताए ।